सर्लाही, गोडैता। सर्लाहीको गोडैता नगरपालिका–१ मा अवस्थित सशस्त्र प्रहरी बल (बिओपी) बहादुरपुरले ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ।
आज बिओपी बहादुरपुरले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा बिओपी कार्यालय नजिकै खाल्डो खनेर करिब १०० किलो अवैध घरेलु मदिरा नष्ट गरेको हो।
गोडैता नगरपालिका–६ मा रहेको महालक्ष्मी चिनी उद्योगको पूर्वी छेउको कच्ची सडक हुँदै उत्तरतर्फबाट नगरको सिमावर्ती बजारतर्फ ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले मदिरा बरामद गरेको थियो।
प्रहरीका अनुसार सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकलमा लोड गरिएको ५ वटा मदिराका ग्यालन छोडी तस्करीमा संलग्न व्यक्ति मोटरसाइकलसहित फरार भएका थिए।
अवैध मदिरा गोडैता नगरपालिका–१ का वडाअध्यक्ष सुजित कुमार महतो, सीमा प्रहरी चौकी बहादुरपुरका प्रहरी सहायक निरीक्षक राजु प्रसाद जैसवाल, स्थानीयवासी सितल मुखिया तथा संचारकर्मीको रोहवरमा नष्ट गरिएको बिओपी बहादुरपुरले जनाएको छ।
सर्लाही जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन गरिने अवैध घरेलु मदिरा जिल्लाका विभिन्न दक्षिणी हाट बजार र सीमापारी भारतसम्म तस्करी हुँदै आएको स्रोतको दाबी छ।