काठमाण्डौ । नेपालमा सामान्यतया असार महिनामा सुरु हुने मनसुन यस वर्ष अपेक्षाभन्दा चाँडो जेठ १५ गते नै कोशी प्रदेशबाट भित्रिएको थियो। तर मनसुन विस्तार नभई उल्टै फर्किएको छ।
मौसमविद्का अनुसार पूर्वी एसियातिर विशेष गरी फिलिपिन्सतिर बनेको बलियो न्यूनचापीय प्रणालीले मनसुनी वायुलाई त्यतातिर तानेको छ। त्यसैले नेपालमा मनसुन फैलिन सकेन।
जेठ १७ मा पूर्वी नेपालमा केही स्थानमा भारी वर्षा र बाढी आयो त्यसपछि वर्षा रोकिएको छ। हाल देशका अन्य भागमा पश्चिमी वायु सक्रिय भए पनि मनसुनी वायु कमजोर छ।
भोलिदेखि मौसममा केही परिवर्तन आउनसक्ने अनुमान गरिएको छ, किनभने बङ्गालको खाडीमा पुनः नयाँ न्यून चापीय प्रणाली बनिरहेको छ। आगामी दिनमा नेपालमा पुनः वर्षा सुरु हुने सम्भावना छ।
यस वर्ष बढी गर्मी र वर्षाको अनुमान गरिएकोले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले तयारी गरिरहेको छ। करिब २० लाख मानिस प्रभावित हुने सम्भावना देखिएको छ।