काठमाडौं । असार २० ,– सातदोबाटोस्थित अनु बुक स्टोरमा लेखिका कृति अधिकारीद्वारा लिखित प्रेरणादायी पुस्तक “A Meaningful Journey of Hope” को भव्य विमोचन समारोह सम्पन्न भएको छ। असार २० गते आयोजित कार्यक्रममा प्रमुख अतिथि नाटककार तथा निर्देशक युवराज घिमिरे र विशिष्ट अतिथि पाटन अस्पतालका मनोपरामर्श विशेषज्ञ डा. अनन्त अधिकारीले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
प्रमुख अतिथि घिमिरेले पुस्तकले मानसिक अवस्था, संघर्ष र आशाको शक्तिको महत्वलाई गहिरो दृष्टिकोणबाट प्रस्तुत गरेको भन्दै लेखिकाको लेखनशैलीको प्रशंसा गरे। उनले भने, “कृति अधिकारीको यो कृति पाठकमा ऊर्जा, सकारात्मकता र जीवनप्रति नयाँ दृष्टिकोण जगाउने खालको छ।”
यस्तै, डा. अधिकारीले पुस्तक मानसिक स्वास्थ्य, मनोपरामर्श र भावनात्मक उतारचढावमा केन्द्रित रहेको उल्लेख गर्दै यसले पाठकलाई जीवनका कठिन मोडहरू पार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
लेखिका कृति अधिकारीले पुस्तक व्यक्तिगत अनुभव र पेशागत ज्ञानको संयोजनमा आधारित रहेको बताउँदै आशाको मार्ग देखाउने उद्देश्यले लेखिएको जानकारी दिइन्। उनले लेखन यात्रामा साथ र प्रेरणा दिने आफ्ना बाबुआमा, श्री कृष्ण अधिकारी र रूपा अधिकारीप्रति विशेष आभार व्यक्त गरिन्।

पुस्तकका सम्पादक क्यान्डिना कर्म गुरुङको योगदानलाई पनि लेखिकाले उच्च मूल्याङ्कन गरिन्। उनले भनिन्, “क्याण्डिनाको सूक्ष्म दृष्टिकोण, सम्पादन कौशल र संवेदनशीलताले पुस्तकलाई थप सशक्त बनायो।”
कार्यक्रममा सामाजिक अभियन्ता रोज बिष्टलाई Smile Trust Nepal द्वारा समाजसेवामा समर्पित कार्यको कदर गर्दै विशेष सम्मान प्रदान गरियो। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको आयोजकले प्रशंसा गरे।
कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी, स्वास्थ्यकर्मी र समाजसेवीहरूको बाक्लो उपस्थिति थियो। “A Meaningful Journey of Hope” आत्म-प्रेरणा र जीवन दृष्टिकोणमा आधारित पुस्तक हो, जसले पाठकलाई गहिरो सोच र आत्ममूल्याङ्कन गर्न प्रेरित गर्छ।