काठमाडौं, २०८२ साउन १४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भित्र पछिल्ला केही वर्षदेखि 'पार्टी फुट्छ' भन्ने माथिल्लो तहबाटै फैलाइएको प्रचारले अहिले थप मलजल पाएको छ। पार्टी कार्यकर्ता र आमजनतामा भ्रमको खेती भइरहेको भन्दै नेताहरूले सचेत रहन आग्रह गरिरहेका छन्। यसैबीच, पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर' ले विशेष महाधिवेशनको माग गर्दै सार्वजनिक रूपमा आफ्नो लाइन स्थापित गर्ने प्रयास गरिरहेका छन्, जसलाई कतिपयले उनको व्यक्तिगत राजनीतिक भविष्यसँग जोडेर हेरेका छन्।
पार्टीभित्र विशेष महाधिवेशनको चर्चा कुनै नयाँ विषय होइन। गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको थियो। यही सन्दर्भलाई टेकेर शर्माले पार्टीमा एजेन्डाकेन्द्रित बहसको आह्वान गरेका छन्, जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उनको तर्क छ।
शर्माले हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई दुई बुँदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा लाग्न आग्रह गरेका छन्। उनको यो भनाइलाई कतिपयले वर्तमान पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टिको रूपमा लिएका छन्, तर यसलाई पार्टीभित्रैबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वलाई चुनौती दिने अप्रत्यक्ष प्रयासका रूपमा पनि हेरिएको छ।
संकटको पहिचान र 'प्रभाकर' को समाधान
जनार्दन शर्माले अहिले सिंगो देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेको ठहर गर्दै यसको समाधान संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै भएको जिकिर गरेका छन्। उनले अर्थतन्त्रको पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत पुग्ने र संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउने दाबी गरेका छन्।
उनका अनुसार, देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि र जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशा चिर्न समस्याको पहिचान र समाधान दिन आवश्यक छ। संविधान संशोधनले शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरूमा राष्ट्रलाई एकताबद्ध गर्ने उनको तर्क छ।
विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना संबोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने शर्माको मत छ। उनको यो जोड विशेष महाधिवेशनमार्फत आफ्नो राजनीतिक लाइन स्थापित गर्ने र थप असन्तुष्ट कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने आकलन गरिएको छ।
अध्यक्ष प्रचण्डको 'लक्षित अभिव्यक्ति' र जनार्दनको धर्मसंकट
पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो समय खुला रूपमा जनार्दन शर्माप्रति लक्षित अभिव्यक्ति दिएपछि शर्मालाई पार्टीमै बसेर अन्तरसंघर्ष गर्ने कि अलग भएर अगाडि बढ्ने भन्ने धर्मसंकट परेको देखिन्छ। प्रचण्डका भनाइहरूले शर्माको विशेष महाधिवेशनको मागलाई पार्टीभित्रको गुटबन्दी र स्वार्थको राजनीतिका रूपमा व्याख्या गर्ने प्रयास गरेको बुझिन्छ।
यस्तो अवस्थामा, शर्माको विशेष महाधिवेशनको माग र उनले अघि सारेका एजेन्डाहरू पार्टीको वास्तविक हितका लागि हुन् वा आफ्नै राजनीतिक महत्वाकांक्षा पूर्ति गर्ने माध्यम मात्र हुन् भन्नेमा बहस तीव्र बनेको छ। पार्टीभित्रको आन्तरिक कलह, नेतृत्वप्रतिको असन्तुष्टि र सैद्धान्तिक विचलनलाई सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक छ भन्ने एकथरीको तर्क छ भने, अर्कोथरी यसलाई पार्टी विभाजनको पूर्वाभ्यास वा व्यक्तिगत स्वार्थको खेलका रूपमा हेरेका छन्।
नेकपा (माओवादी केन्द्र) भित्रको यो अन्तरसंघर्षले पार्टीको आगामी दिशा कस्तो हुनेछ भन्नेमा आम चासो बढेको छ। के जनार्दन शर्माले आफूले चाहेजस्तै विशेष महाधिवेशन गराएर आफ्नो लाइन स्थापित गर्न सफल होलान्, वा प्रचण्डले पार्टीभित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्दै नेतृत्व कायम राख्न सफल होलान्? आगामी दिनहरूमा यसको स्पष्ट चित्र देखिनेछ।