भारत, जेठ २९ भारतको गुजरात राज्यको अहमदाबादमा आज एक गम्भीर विमान दुर्घटना भएको छ। एयर इन्डियाको लन्डन ग्याटविकतर्फ गइरहेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान टेकअफपछि केही मिनेटमै दुर्घटनामा परेको हो।

विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए। विमान टेकअफपछि करिब ६२५ फिट उचाइमा पुगेपछि सिग्नल हराएको र त्यसपछि मेघानीनगर क्षेत्रमा अवतरण गरेको बताइएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको र बाक्लो कालो धुवाँ देखिएको छ। स्थानीय बासिन्दाहरूले ठूलो आवाज र विस्फोटको अनुभव गरेका छन्। घटनास्थलमा दमकल र उद्धार टोलीहरू तुरुन्तै परिचालित भएका छन्। भारतीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापुले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यको निगरानी गरिरहेको बताएका छन ।

यो दुर्घटना बोइङ ७८७ ड्रीमलाइनर विमानको पहिलो दुर्घटना मानिएको छ। यसले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।
अहिले पनि उद्धार कार्य जारी छ र घटनाको थप विवरण आउन बाँकी छ।