नेपालको ऐतिहासिक जित : सावित्राको कप्तानीमा लाओसविरुद्ध ९-० को फराकिलो जीत

aakashbani.com

काठमाडौं, १५ असार । नेपाली महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध शानदार प्रदर्शन गर्दै ९-० को फराकिलो जित हासिल गरेको छ। उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गरेको हो। 

नेपाली टोलीको कप्तानी पहिलोपटक सावित्रा भण्डारी (साम्बा)ले सम्हालेकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा रेनुका नगरकोटीलाई कप्तान घोषणा गरे पनि खेलमा सावित्राले आर्मब्याण्ड लगाएर नेतृत्व गरिन्। उनले व्यक्तिगत रूपमा ५ गोल गर्दै खेलको नायिका बनिन्।

खेलको पहिलो हाफमा नेपालले २ गोलको अग्रता बनाएको थियो। १२औँ मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरिन् भने ४४औँ मिनेटमा सावित्राले दोस्रो गोल थपिन्। दोस्रो हाफमा नेपालको आक्रमण झनै तीव्र भयो। ४७औँ मिनेटमा सरु लिम्बूले आफ्नो ५०औँ खेलमा गोल गरिन्। सावित्राले ५५औँ मिनेटमा गोल थप्दै ह्याट्रिकको आधार तयार पारिन्। 

त्यसपछि रश्मी कुमारी घिसिङले ५६औँ मिनेटमा गोल गरिन्। सावित्राले ह्याट्रिक पूरा गर्दै थप दुई गोल गरिन्। सब्स्टिच्युट खेलाडी अनिता केसीले ८३औँ मिनेटमा गोल थपिन् भने ८८औँ मिनेटमा सावित्राले पुनः गोल गर्दै नेपालको जीतलाई ९-० मा पुर्‍याइन्।

नेपालले अब समूह चरणको दोस्रो खेलमा बुधबार श्रीलंकासँग र तेस्रो खेलमा शनिबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेताले एएफसी महिला एसिया कपमा स्थान बनाउने छ।

यो जितले नेपालको महिला फुटबल टोलीको आत्मविश्वास उच्च भएको छ भने सावित्राको नेतृत्व र गोल गर्ने क्षमताले टोलीलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया