काठमाडौं, असार १९ – एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र सिंगापुरबीच शनिबार रोमाञ्चक भिडन्त हुने भएको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। यससँगै अब उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने छन्।
नेपालले यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै सजिलै फाइनल यात्रा तय गरेको थियो।
गौरबको कुरा के छ भने नेपालले समूह चरणमै सिंगापुरलाई हराइसकेको छ। नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै आएको छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई पराजित गरेको छ।
प्रतियोगिताको साविक विजेता रहेको नेपाल अब लगातार चौथो उपाधिका लागि सिंगापुरसँग भिड्न तयार छ। फाइनल खेल शनिबार हुनेछ, जसले च्याम्पियनको उपाधि निश्चित गर्नेछ।