पोखरामा दुई प्याराग्लाइडिङ दुर्घटना: चार जना सकुशल उद्धार

aakashbani.com

पोखरा, २८ जेठ - पोखराको फेवा तालमा बुधबार दिउँसो दुई वटा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा अनियन्त्रित भई तालमा खस्दा चार जना यात्रु सकुशल उद्धार भएका छन्।

तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो। सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको फेवा रेस्क्यु टावरको टोलीले दिउँसो करिब ३ बजे चारै जनालाई सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकाहरूमा भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल साथै अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेका छन्।

प्याराग्लाइडिङको लोकप्रिय गन्तव्य पोखरामा पछिल्ला वर्षहरूमा मौसमजन्य कारणले दुर्घटनाहरू बढ्दै गएका छन्। यसले सुरक्षा मापदण्ड र पूर्वतयारीमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया