काठमाडौं - इरान र इजरायलबीचको बढ्दो तनावले अन्तर्राष्ट्रिय चिन्ता गहिरिँदै गएका बेला चीनले आफ्नो इजरायलस्थित दूतावासमार्फत आफ्ना नागरिकहरूलाई "जतिसक्दो चाँडो" इरान छाड्न आग्रह गरेको छ। दूतावासले मङ्गलबार चीनको लोकप्रिय सामाजिक सञ्जाल WeChat मा एक सार्वजनिक सन्देश जारी गर्दै यस्तो चेतावनी दिएको हो।
सन्देशमा उल्लेख गरिएको छ:
“व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिँदै चीनको इजरायल मिसनले चीनियाँ नागरिकहरूलाई जमिन मार्गबाट छिटो इरान छाड्न सिफारिस गर्दछ,” भनिएको छ। चिनियाँ नागरिकलाई विशेषतः इरान–जोर्डन सीमा प्रयोग गर्न सुझाव दिइएको छ।
किन गम्भीर भयो स्थिति?
बीबीसीको रिपोर्ट अनुसार हाल इजरायल र इरानबीचको स्थिति निकै संवेदनशील अवस्थामा पुगेको छ। एकातर्फ इजरायलले इरानी सैन्य संरचनामाथि हवाई आक्रमणहरू जारी राखेको छ भने अर्कातर्फ इरानले पनि बलिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेर जवाफ दिएको छ।
यस क्रममा थुप्रै पूर्वाधारहरू ध्वस्त भएका छन् भने नागरिक हताहत हुने घटनामा वृद्धि भएको छ। बेइजिङको दूतावासले जारी वक्तव्यमा भनिएको छ, “सुरक्षाको अवस्था दिनानुदिन गम्भीर हुँदै गएको छ, र यात्रा जोखिमपूर्ण बन्न थालेको छ।”
चीनको बढ्दो कूटनीतिक सक्रियता
चीनले इरानसँग घनिष्ठ आर्थिक र रणनीतिक सम्बन्ध राख्ने देशका रूपमा इरान-इजरायल द्वन्द्वमा संयमता अपनाउन आग्रह गर्दै आएको छ। तर आफ्ना नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो खुला चेतावनी दिनु दुर्लभ हो।
यसअघि पनि केही युरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई मध्यपूर्व क्षेत्र विशेषतः इरान र सिरिया जस्ता देश नजान वा त्यहाँ रहेका नागरिकलाई तत्काल फर्कन आग्रह गरेका थिए।
इरान र इजरायलबीचको यो बढ्दो तनाव क्षेत्रीय युद्धमा रूपान्तर हुन सक्ने खतरा विश्लेषकहरूले औंल्याएका छन्। यस्तोमा ठूला शक्ति राष्ट्रहरू – चीन, अमेरिका, रूस लगायतले मध्यस्थताको भूमिका खेल्ने सम्भावना पनि बढेको छ।
चीनको यो चेतावनीले यस क्षेत्रको संवेदनशीलता र संभावित मानवीय संकटप्रति गम्भीर संकेत दिएको छ।