काठमाण्डौ आषाढ १०
मलेसिया - एसीसी यू-१६ इस्टन जोन कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन जारी राख्दै जापानलाई ९ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमै ८० रनमा अलआउट भयो। कप्तान चार्ली हराहिन्जीले ३६ रन बनाए भने गावी हराहिन्जीले १३ रनको योगदान दिए। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि शुभम् खनाल बलिङतर्फ सर्वश्रेष्ठ रहे। उनले १० ओभरमा ५ मेडनसहित १५ रन दिँदै ५ विकेट लिए। अभय यादवले २ विकेट तथा शुसील बहादुर रावल र विपीन शर्माले समान १–१ विकेट लिए।
८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। ओपनर जोए थापा १ रनमै आउट भए पनि प्रशिद्ध जैशी र शिवान्स बजगाईंको अविजित साझेदारीले सहज जित सुनिश्चित गर्यो। जैशीले ३३ रन र बजगाईंले ३८ रन बनाए।
नेपालले समूह ‘ए’ मा सिंगापुर र जापानलाई पराजित गर्दै ४ अंक जोडेको छ। समूहमा अब नेपालले आइतबार इन्डोनेसियासँग खेल्नेछ भने अन्तिम खेल भुटानसँग हुनेछ।
यस प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। दुई समूहमा विभाजन गरिएको टोलीमध्ये प्रत्येक समूहबाट शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन्। नेपाल यसअघि तीनै संस्करणको विजेता रहँदै अब लगातार चौथो उपाधिको खोजीमा छ।