हैदराबादको रासायनिक कारखानामा विस्फोट : २७ जनाको मृत्यु, २४ अझै बेपत्ता

aakashbani.com

काठमाडौं, असार १७ ।- भारतको तेलङ्गाना राज्य अन्तर्गत संगारेड्डीस्थित पसामिलाराम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स कारखानामा सोमबार भएको भीषण विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। घटनामा २४ जना अझै बेपत्ता रहेका छन् भने ३५ जना घाइते भएका छन्।

विस्फोट यति शक्तिशाली थियो कि कारखानाको ठूलो हिस्सा ध्वस्त भएको र वरपरको क्षेत्र प्रभावित भएको प्रहरीको भनाइ छ। मृतकहरूमा हालसम्म ३ जनाको पहिचान खुलेको छ भने बाँकीको सनाखत कार्य जारी छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। साथै, बिहार सरकारले पनि मृतकका आश्रितहरूलाई २ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

घटनाको कारण र थप विवरणको खोजीका लागि अनुसन्धान सुरु गरिएको छ भने हराइरहेका व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया