सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

aakashbani.com


 काठमाडौं,असार ८

मलेसियामा सुरु भएको एसीसी पुरुष यु–१६ इस्ट जोन कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले प्रभावशाली जितसहित प्रतियोगिताको विजयी सुरुवात गरेको छ। 

मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो। १३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

नेपालका ओपनर प्रसिद्ध जैशीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रनको योगदान दिए। सुर्यान्सु कोइराला ९ रनमा रिटायर्ड हर्ट भए। शुभम खनाल ९ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमै समेटिएको थियो। सिंगापुरका कप्तान रिजन नाइकले ५३ रन बनाउँदै अर्धशतक पूरा गरे भने आहान भुथानडमले ३८ रन जोडे।

नेपालका बलर विपिन शर्माले घातक बलिङ गर्दै ४ विकेट लिए। यस्तै, सचिन भट्टले ३, अभय यादव र शुभम खनालले समान १–१ विकेट लिए।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

नेपालले मंगलबार जापानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग भिड्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल आगामी असार २१ गते (जुलाई ५) हुने आयोजकले जनाएको छ।

नेपाल यसअघि आयोजित तीनवटै संस्करणको च्याम्पियन रहँदै प्रतियोगितामा बलियो टोलीको रूपमा परिचित छ।

प्रतिक्रिया